१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘लेसर ग्रे स्राइक’ चरा पहिलोपल्ट भक्तपुरको मनोहरामा देखियो


390
Shares

काठमाडौं । युरोप, दक्षिण–पश्चिम एसियामा पाइने रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपल्ट भक्तपुरको मनोहरामा देखिएको छ ।

तापक्रम वृद्धि हुने क्रम बढेसँगै गर्मी क्षेत्रमा मात्रै हुने यो चरा असार महिनामा भक्तपुरको मनोहरामा रहेको मिनी कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा यो चरा पहिलोपटक मनोहरामा देखिएको हो ।

मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि फोटो खिँच्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक गत वषर्को वैशाख महिनामा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देख्नुभएको थियो । यस चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता श्रेष्ठले जानकारी दिनुभयो ।

गौथली जस्तै देखिने यो चरा निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्छ । यो चरा भक्तपुरमा असार लागेपछि जोडीनै देखिएको श्रेष्ठले बताउनुभयो ।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइन्छ । यो चरासहित अब मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् ।