८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नयाँ दलले पुराना राजनीतिक दललाई सम्मान गरेनन् : प्रधानमन्त्री दाहाल


507
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरुले पुराना दललाई अपमान गरिरहेको आरोप लगाउनु भयो ।

प्रधानमन्त्री दाहालले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको बताउनु भयो । उहाँले नयाँ राजनीतिक दलहरुले बोल्दा हेक्का राखेर बोल्नुपर्ने बताउनुभयो । पुराना दलहरुको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरुले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरुको अपमान गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उनीहरुले नै हो । र अहिले केही नयाँ नयाँ मानिसहरु हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तिनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदान हो । इमान्दारिता यही हुन्छ की, नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन । नयाँ आएर बोल्नेहरुको जिम्मेवारी हुन्छ की पुराना पार्टीहरुले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलढेको भए लाकतान्त्रिक गणतन्त्र र ति नयाँ मान्छेहरु आउने वातावरण बन्न सम्भव थियो त ? बिल्कुल थिएन ।’

प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले जीवनको उत्तराद्र्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको बताउनुभयो । उहाँले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताउनुभयो ।

‘७० तिरबाट अघि बढ्नु उत्तराद्र्ध नै हो । तर म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु । बरु जनयुद्धमा मेरो जीवन सरल थियो । अहिले अझ बढी खट्नुपर्ने । विभिन्न राजनीतिक दलहरु कहिले यता, कहिले उता पनि भन्छन् । तर मैले पार्टी आन्दोलन देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरु, बाहिर र सदन भित्र भएकाहरुलाई पनि संयोजन गर्नेकुरा गरिरहेको छु । कहिले कहीँ त मलाई यस्तो लाग्छ, मैले नेपाली काँग्रेस, नेकपा एमालेलाई पनि अरु पार्टीलाई पनि संयोजन गर्ने, उहाँहरु भित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्ने जस्तो गरी मैले काम गर्नु परिरहेको छ । मैले गरिरहेको पनि छु ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले वृहत्तर एकतातिर पनि आफू अघि बढिरहेको बताउनुभयो ।