
काठमाडौं । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा विभिन्न योगासनहरु प्रस्तुत गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ ।
‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मुल नाराका साथ दशौं विश्व योग दिवस मनाउन लागिएको हो । योगबारे जानकारी दिँदै योग साधक एवं बागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष केदारनाथ बस्ताकोटी योग स्वास्थ्यका लागि भएको बताउनुभयो । मानसिक एवं शारीरिक स्वस्थताका लागि योग अपरिहार्य भएको बताउँदै उहाँले आसन र प्राणयामलाई केन्द्रित गरेर शरीरलाई स्वस्थ बनाउन सकिने बताउनुभयो ।
अध्यक्ष बस्ताकोटीले युवालाई आसनको माध्यमबाट योग सिकाउन सके युवाहरुलाई योगमा आकर्षित गर्न सकिने बताउनुभयो । उहाँले योग सम्पूर्ण खेलमा जोडिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्