१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेलम्चीको पानी बन्द गर्ने मिति तोकेका छैनौं : लामिछाने


299
Shares

काठमाडौं । मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको हो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मनसुन शुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन्द गनुपर्ने अवस्था रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक लामिछानेले विज्ञ र मन्त्रालयले जेठ ३१ गतेबाट जुनसुकै समयमा पानी बन्द गर्न सुझाव आएको भन्दै आयोजनाले तत्कालको लागि पानी बन्द नगरी निरन्तर पानी पठाउने काम गरिरहेको बताउनुभयो । तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरीने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

कार्यकारी निर्देशक लामिछानेले मेलम्ची नदीमा धमिलो पानी नआएसम्म पानी पथान्तरण जारी रहने बताउनुभयो । सबै सावधानिका उपायहरु अपनाएर आवश्यक जनशक्ति र उपकरण समेत तयारी अवस्थामा राखेको बताउनुभयो । उहाँले मेलम्चीको पानी बन्द गर्ने मिति नतोकिएको बताउनुभयो । उहाँले अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताउनुभयो ।

मनसुन सक्रिय भएर मेलम्ची नदीमा बाढी आए पानी बन्द हुने र मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाउने कार्यकारी निर्देशक लामिछाने बताउनुभयो । उहाँले मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा हुनसक्ने सम्भावित क्षति न्युनिकरणका लागि आयाजनाले हेडबक्स बन्द गर्ने बताउनुभयो । आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ ।

कार्यकारी निर्देशक लामिछानेले मलम्चीको पानी बन्द भएपनि उपत्यकावासीलाई पानीको अभाव भने हुन नदिने बताउनुभयो । उहाँले मनसुन सक्रिय भएसँगै पानीका स्रोतहरु पानीको बहाव बढ्ने तथा इनारमा समेत पानी बढ्ने बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वागमती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने तयारी रहेको बताउनुभयो । उहाँले मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको आपूर्ति व्यवस्थापनलाई सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी वितरण गर्ने तयारी भएको बताउनुभयो ।