८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्दा प्रभावकारी हुन्छ’


377
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा हुँदा प्रभावकारी हुने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले राजस्व संकलन गर्ने निकायले नै राजस्व चुहावटको अनुसन्धान गर्दा सन्तुलन र नियन्त्रण कायम हुन नसक्ने भन्दै माथिल्लो निकायबाट अनुसन्धान हुनुपर्ने देखिएकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा राखिएको बताउनुभयो । उहाँले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहकार्य गर्न सहज हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सम्पत्ति शुद्धिकरण निवारण र सुशासनको पाटोमा अन्तर्राष्ट्रिय चासो पनि हुने भन्दै हालको व्यवस्थाबाट प्रभावकारी नियन्त्रण र सन्तुलन कायम हुन सक्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सबै मन्त्रालयको बजेट सन्तुलित बनाउने कोसिस भएको बताउनुभयो । उहाँले हुन्डी कारोबार रोक्न सरकारले केही प्रभावकारी कदम चाल्न लागेको पनि जानकारी दिनुभयो ।