३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नीतिमा समाजवादी संस्कृति विकासका कुरा आउनुपर्छ : मन्त्री तामाङ


182
Shares

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पुरानो संस्कृति नीतिले काम नगरेर नयाँ नीति ल्याउनुपरेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा संस्कृति नीति, २०८१ को मस्यौदा सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री तामाङले यस्तो बताउनुभएको हो ।

मन्त्री तामाङले पुरानोले काम नगरेर र अपुग भएर नयाँ नीति ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले पुरानो संस्कृति नीतिले अहिलेको सामाजिक व्यवस्थालाई सँगै लैजान असक्षम भएको बताउनुभयो । उहाँले अहिलेको समाज, परिस्थिति, युग सुहाउँदो, संस्कृति नीति बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

मन्त्री तामाङले नयाँ नीतिमा पुरानो संस्कृति नीतिको आलोचना गर्नुपर्ने बताउनुभयो । उहाँले पुरानो अवैज्ञानिक रहेको निस्कर्षमा पुगेको भएपनि नयाँ संस्कृति नीति कस्तो हुने भन्नेकुरा नयाँ संस्कृति नीतिको मस्यौदामा खुल्न नसकेको बताउनुभयो ।

मन्त्री तामाङले वैज्ञानिक र समाजवादी संस्कृतिको विकास गर्ने कुरा नयाँ संस्कृति नीतिमा आउनुपर्ने बताउनुभयो । अहिलेको संविधान आफैँमा समाजवादउन्मुख भएकाले संस्कृति नीतिमा समाजवादी संस्कृतिको विकास गर्ने कुरा आउनुपर्ने बताउनुभयो ।

मन्त्री तामाङले राज्यको सांस्कृतिक नीति संस्कृति मन्त्रालयसँग मात्रै सम्बन्धित नहुने भएकाले सबै सम्बन्धित मन्त्रालयहरुले एक आपसमा समन्वय गरेर काम अघि बढाउनुपर्ने बताउनुभयो ।