
काठमाडौं । सांसदहरुले एसईई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनीहरुले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन् । सांसदहरुले धेरै विद्यार्थीहरु अनुत्तिर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन् ।
बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गर्नुभयो । उहाँले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताउनु भयो । उहाँले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘हिजो प्रकाशित एसईईको परिणामले हाम्रो अगाडी ठुलो प्रश्नचिन्ह खडा गरेको छ । ५२ प्रतिशत असफल हुनु भनेको यो राष्ट्र नै असफल हुनु हो । शिक्षा प्रणाली नै असफल हुनु हो । र सरकार असफल हुनु हो । म यसरी बुझ्छु । शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँछु ५२ प्रतिशत विद्यार्थीको मनस्थिति कस्तो होला ? मनोविज्ञान कस्तो होला ? शिक्षा मन्त्रालय गम्भीर हुनुपर्छ, यसको बारेमा अध्ययन गर्नुपर्छ यिनीहरु किन अनुत्तिर्ण भए त ? विद्यालयको कमजोरी हो कि ? शिक्षा नीतिको कमजोरी हो कि ? विद्यार्थीहरु आफैको कमजोरी हो कि ? अध्ययन गरेर जरो पत्ता लगाऔँ ।’
त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार अनुत्तिर्ण भएको हो भनि प्रश्न गर्नुभयो । उहाँले शिक्षामा गुणस्तरियता नभएका कारण यस प्रकारको परिणाम आएको बताउनुभयो । उहाँले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताउनुभयो ।
बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनि प्रश्न समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्