
काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । शनिबार भएको आईसीसी टी–२० क्रिकेट विश्वकपको उपाधि जितेपछि रोहितले सन्यासको घोषणा गरेका हुन् ।
रोहित भारतबाट दुई पटक टि–२० विश्वकप जित्ने एक मात्र खेलाडी हुन् । सन् २००७ मा महेन्द्र सिंह धोनीको कप्तानीमा विश्वकप जित्दा पनि रोहित टोलीका सदस्य थिए । यसपटक कप्तानको रुपमा भारतलाई विश्वकपको उपाधि जिताउने आफनो चाहना पुरा भएको भन्दै उनले सन्यास लिएको जनाएका छन् ।
यसअघि भारतीय टिमका ओपनर विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले भारतबाट १५९ खेलमा चार हजार २३१ रन बनाएका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै पाँच शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि रोहितकै नाममा छ । अन्तराष्ट्रिय टी–२० बाट सन्यास लिएपनि रोहितले टेष्ट र एक दिवसीय क्रिकेट भने अझै केही सयम खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्