
काठमाडौँ । संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राख्न राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ ।
संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभएको हो ।
संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने बताउँदै हाल नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक संघीय शासन प्रणालीको प्रक्रियामा रहेको बताउनुभयो ।
सन्देशमा अध्यक्ष दाहालले संसद्को गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमानदार रहन हामी सबैले संसद् दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले दाहालले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउनसके मात्रै संसद् दिवस मनाउनुको सार्थकता हुने बताउनुभयो ।
संसद् दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सन्देशमा उहाँले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनसंघर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेका महान् सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
विं सं २०१६ असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको थियो । त्यसै दिनको स्मरण गर्दै हरेक वर्ष आजको दिन संसद् दिवस मनाउने गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्