
काठमाडौं । नेपाली काँग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले)का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली काँग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरुबीच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताउनुभएको हो । उहाँले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताउनुभयो ।
सांसद गिरीले संविधान संशोधनसम्मका लागि काँग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गर्नुपर्ने बताउनुभयो ।
सांसद गिरीले भन्नुभयो– ‘यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाँइ लडेका दुई ठूला दलहरु बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु ।’
सांसद गिरीले काँग्रेस एमालेका शीर्ष नेताहरुकाबीचमा भएको भेटवार्तालाई सकारात्मक रुपमा लिन आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्