
काठमाडौं । राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रिय सभा सदस्य कमला पन्तले वर्षाका कारण पहिरो र डुवानको समस्या भएको भन्दै मुलुकको अवस्थाको बारेमा सभामा जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सभा अध्यक्षले रुलिङ गर्ने गरेपनि सरकारको जवाफ नआउने गरेको भन्दै एकहप्ता भित्रमा सरकारको जवाफ आउनेगरी पुनः रुलिङको माग गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘वर्षाको याममा पहाडमा पहिरो जाने, तराईमा डुबानका कारण जनजीवन अस्तव्यस्त छ । कहाँ के घट्ना घटेका छन् ? मुलुकको अवस्था के छ ? हामी जान्न चाहान्छौँ भनेर माननीय सदस्यहरुले सधै कुरा उठाउनुहुन्छ, जनजीविकाका सवालमा । सरकारको जवाफ पाइदैनँ । अध्यक्षज्युले सधैँ रुलिङ गर्नुहुन्छ । एक हप्तामा यी सवालहरुको जवाफ सरकारबाट प्राप्त हुने विषय कहिलेदेखि लागु होला ? अध्यक्ष महोदयको रुलिङ लागू होस् ।’
यस्तै राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशका जनताप्रति नेपाल सरकार निर्मम भएको बताउनुभयो । उहाँले काठमाडौंले आफुलाई शासक र कर्णालीका जनतालाई रैति ठानेर कर्णालीलाई बजेट व्यवस्था नगरेको बताउनुभयो । उहाँले संघीयतामा पनि स्रोत र साधनको समान वितरण नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘कर्णाली प्रदेशप्रति नेपाल सरकार फेरि निर्मम बनेको छ । राज्य एकीकरणको प्रक्रियासँगै केन्द्रिय सत्ताको कोपभाजमा परेको कर्णाली प्रदेशको दशा अझै उस्तै छ । अझै काठमाडौंले आफुलाई शासक र कर्णालीका जनतालाई फगत रैति ठानेको छ । होइन भने कर्णालीलाई खोइ त विशेष बजेट ? संघीयतामा स्रोत र साधनको समान वितरण हुन्छ भने खोइ त समानता ? कर्णाली प्रदेशका सबै जिल्ला सदरमुकामहरुमा गाडी पुग्दैनन् । भएका सडकहरु मृत्युमार्गकै अवस्थामा छन् ।’
राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले बुटवल–नारायणगढ सडक खण्ड छिटो बनाउनका लागि सरकारलाई रुलिङ गर्नुपर्ने बताउनुभयो । उहाँले कैलाली जिल्लाको भजनी नरपालिका, टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा भयावह रुपमा बाढी आउने गरेको भन्दै समयमै सचेत भएर आवश्यक प्रवन्ध मिलाउनुपर्ने बताउनुभयो ।
यस्तै राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले नेपालका सडक मानव मृत्युको साधन बनिरहेको भन्दै तत्काल सडक सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक नियमलाई कडाइका साथ पालना गर्नुपर्ने र चालकहरुलाई सचेतना गराउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेले अहिलेको व्यवस्था पुँजीवादी व्यवस्था भएको भन्दै पुँजीवादी व्यवस्थामा भ्रष्टाचारको अन्त्य नहुने बताउनुभयो । उहाँले भ्रष्टाचार अन्त्य गर्न समाजवादी व्यवस्था ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘यो पुँजीवादी व्यवस्थामा भ्रष्टाचार अपरिहार्य विषय हो । भ्रष्टाचार नहुनका लागि अर्कै व्यवस्थामा जानुपर्ने हुन्छ । अर्कै पद्धती अंगाल्नुपर्ने हुन्छ । त्यतातिर हामी कसैको ध्यान गएको पाइदैन । यो व्यवस्थामा भ्रष्टाचार नहोस् भनेर भन्नु डुङ्डुङ्ती गनाउने कुकुर काखमा लिएर मगमग बास्ना आइदिए हुन्थ्यो भनेजस्तै हो । यो सम्भव छैन । हामी भ्रष्टाचार नहुने समाजवादी व्यवस्थातिर जानुपर्ने हुन्छ । त्यो बारेमा धेरै चिन्तन मनन भएको पाइदैन ।’
उहाँले समाजवादी व्यवस्थाका बारेमा चिन्तन मनन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्