२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


रास्वपा केन्द्रिय समिति बैठक शुरु : महामन्त्रीको सांकेतिक विरोध


0
Shares

काठमाडौं । केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले विरोध जनाउनुभएको छ ।

बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गर्नुभएका महामन्त्री ढकालको प्रश्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोध जनाउनुभएको हो । उहाँले मुखमा कालो टेप टाँसेर सांकेतिक बिरोध जनाउनुभएको छ ।

महामन्त्री ढकालले लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रशारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आएपनि बैठकले उहाँको प्रश्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ ।

साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाउनुभएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अँगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने कुरालाई उठाइएको छ । पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ ।