१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ : गभर्नर अधिकारी


65
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा कृषि पेशालाई सम्मान गर्ने वातावरण बन्दै गएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले विदेशबाट फर्किएर कृषि पेशामा काम गरिरहँदा कृषकहरु पनि उत्साहित रहेको आफूले पाएको बताउनुभयो ।

गभर्नर अधिकारीले कृषकहरु सरकारी कार्यालयमा जाँदा पहिला नाक खुम्च्याउने गरे पनि अहिले सम्मान दिने क्रम शुरु हुनु खुशीको विषय भएको बताउनुभयो । उहाँले खाद्यजन्य, कृषिजन्य वस्तुहरु ठूलो मात्रामा आयात भइरहेको भन्दै नेपाल स्वयं आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले मासुजन्य, दुधजन्य पदार्थमा नेपाल आत्मनिर्भर बनेको र अन्य खाद्यवस्तुमा पनि आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो ।

गभर्नर अधिकारीले राष्ट्रबैंक माध्यम भएर दिइरहेको ब्याज अनुदान कार्यक्रममा अहिले १ लाख २६ हजार ऋणि बनेको बताउनुभयो । उहाँले ति सबै ऋणि नयाँ ऋणि भएको बताउनुभयो । उहाँले त्यसमध्ये ७५ हजार ऋणि महिला रहेको उल्लेख गर्दै महिलाले मात्रै उक्त कार्यक्रमअन्तर्गत प्रयोग गरेको ऋण ४३ अर्बको भएको बताउनुभयो ।

गभर्नर अधिकारीले अन्य ऋण साना व्यवसायीहरुको रहेको उल्लेख गर्नुभयो । अनुदान ठूला व्यवसायीहरुले चलाए की भन्ने प्रश्न उठ्ने गरेको भन्दै उक्त कुरा सर्फेसियल रहेको बताउनुभयो । २०७९ असोजदेखि यता अनुदान नदिइएको पनि स्पष्ट पार्नुभयो ।

गभर्नर अधिकारीले युवाहरुले देश छोडे भन्ने चिन्ता गर्नु भन्दा पहिला स्वदेशमै बस्ने वातावरण बनाउन लाग्नुपर्ने बताउनुभयो ।