१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


मध्य गाजामा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु


182
Shares

एजेन्सी । शनिवार दिउँसो मध्य गाजा पट्टीको नुसेरात क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली बमबारीमा कम्तीमा १६ प्यालेस्टाइनीको मृत्यु भएको छ । जसमा अधिकांश बालबालिका र महिला रहेको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

हालको प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि अल–जाउनी विद्यालयमा तेस्रो पटक बम विष्फोट भएको जनाइएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार इजरायली सेनाले घटनाको बारेमा रिपोर्ट हेरिरहेको बताएको छ ।

हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले शनिबार एक विज्ञप्तिमा आक्रमण भएको विद्यालयले झन्डै ७ हजार विस्थापित व्यक्तिहरूलाई आश्रय दिएको र द्वन्द्व शुरु भएदेखि इजरायली सेनाले १७ भन्दा बढी विद्यालय र विस्थापन तथा आश्रय केन्द्रहरूमा नुसेरातमा बमबारी गरेको बताएको छ ।

संयुक्त राष्ट्र संघको तथ्याङ्कले यस हप्ताको शुरुमा गाजाभित्र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको संख्या १.९ मिलियन रहेको बताएको छ । विगत २४ घण्टामा इजरायली सेनाले २९ जनाको ज्यान लिनुका साथै १०० जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मारिनेमा पाँच स्थानीय पत्रकार थिए । जसले अक्टोबर ७ यता मारिने पत्रकारको सङ्ख्या १५८ पुगेको मिडिया कार्यालयले जनाएको छ । गाजा पट्टीमा प्यालेस्टाइनीहरूको मृत्युको संख्या ३८ हजार ९८ पुगेको छ । ८७ हजार ७०५ घाइतेहरू रहेका छन् ।