१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारको आर्थिक अवस्था कमजोर छ, अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी


7.579k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताउनुभएको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाचेको बताउनुभयो । उहाँले त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको बताउनुभयो ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताउनुभयो । उहाँले घरजग्गा कारोबार,साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले लोन टु भ्यालु रेसियो,जोखिम भार लगायतका विषयमा माइक्रो पोलिसी अन्तर्गत पर्ने बताउनुभयो । उहाँले त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने बताउनुभयो ।

गभर्नर अधिकारीले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैंकले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गर्नुभयो । उहाँले राष्ट्र बैंकले उद्योग व्यवसायलाई अफ्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ बाँधेको डोरी देखाए फुकाउन तयार रहेको बताउनुभयो ।