१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


गठबन्धन सरकार सधै ‘ढुलमुले’


12.428k
Shares

काठमाडौं । जब संसदमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न सक्दैन तब सरकार गठनका लागि समीकरण वा गठबन्धन गर्नु सामान्य प्रक्रिया हो । त्यस्तो अवस्थामा दुई ठूला दलमध्ये एउटा दलले सरकारको नेतृत्व गर्ने आँकलन गर्ने गरिन्छ । तर, नेपालमा भने यस्तो अवस्थाको फाइदा पहिलो र दोस्रोले भन्दा तेस्रोले उठाउने परम्परा नै बन्दै आएको छ ।

२०६३ सालमा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म १४ वटा सरकार बनेको छ । तीमध्ये ११ वटा सरकारमा माओवादी सहभागी भएको छ । यो अवधिमा गठन भएका चार वटा सरकारको नेतृत्व माओवादी आफैले गरेको छ भने ७ वटा सरकारमा सहभागी भएको छ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयमले ३ पटक सरकारको नेतृत्व गर्दै सत्ताको बागडोर सम्हालेका छन् भने डा. बाबुराम भट्टराईले माओवादी नेताकै हैसियतमा एकपटक सरकारको नेतृत्व गरेका छन् ।

२०६३ बैशाखमा लोकतन्त्र स्थापना भएपछि नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा एमाले लगायतका दलहरु सहभागी थिए । शान्ति सम्झौता पछि त्यही सरकारमा पहिलो पटक माओवादी केन्द्र सहभागी भयो । २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आएन । माओवादी केन्द्र पहिलो दल बन्यो ।

एमाले र तत्कालीन मधेसी जनअधिकार फोरमको समर्थनमा २०६५ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बने । २ सय ८० दिनसम्म सरकारको नेतृत्व गरेर दाहाल प्रधानसेनापति रूक्माङ्गद कटुवाल प्रकरणमा विवादित भएपछि २०६६ मा राजीनामा दिएर बाहिरिन बाध्य भए । दाहालको राजनीमा पछि नेपाली काँग्रेस सहित २२ दलको समर्थनमा बनेको एमालेका माधव कुमार नेपाल नेतृत्वको सरकारमा भने माओवादी सहभागी भएन ।

नेपाल नेतृत्वको सरकार ढाल्दै माओवादी केन्द्रकै समर्थनमा २०६७ मा पुनः एमालेका नेता झलनाथ खनाल प्रधानमन्त्री बने । अधिकांश मन्त्रालयहरुसहित माओवादी सरकारमा फर्कियो । आफै सहभागी सरकारलाई ढालेर २०६८ मा माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भए । कांग्रेस र एमालेलाई बाहिर राखेर मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक), मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र नेपाल सद्भावना पार्टी सहित साना पार्टीहरूको समर्थनमा भट्टराई प्रधानमन्त्री बनेका थिए ।

पटक पटक म्याद थपेर पनि संविधान निर्माण गर्न असफल भएसँगै २०६९ मा संविधानसभा विघटन भयो र नयाँ संविधान सभाको निर्वाचन गराउन तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा नयाँ सरकार बन्यो । माओवादी त्यो सरकारमा पनि सहभागी भयो । २०७० सालमा नेकपा एमाले र काँग्रेसको समर्थनमा काँग्रेसका सुशील कोइराला नेतृत्वको सरकार गठन भयो । यसमा माओवादी सहभागी भएन । नयाँ संविधान जारि भएसँगै यो सरकार ढलेपछि ०७२ असोजमा माओवादी केन्द्रको समर्थनमा फेरी एमाले नेतृत्वको सरकार गठन भयो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । माओवादी पुनः सरकारमा सहभागी भयो । कांग्रेस र माओवादीको गठबन्धनबाट माओवादी फेरि सरकारको नेतृत्वमा पुग्यो ।

२०७४ मा माओवादी सहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम संघिय समाजवादी फोरम, नेपाल र अन्य साना दलको समर्थनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । २०७४ मा भएको स्थानीय निर्वाचनमा काँग्रेससँग गठबन्धन गरेको माओवादीले देउवा सरकारमै रहेको बेलामा २०७४ कै संसदीय निर्वाचनमा एमालेसँग गठबन्धन गर्यो । २०७४ को निर्वाचनपछि माओवादीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री भए । माओवादी सरकारमा सहभागी भयो । यहीबीचमा माओवादी र एमालेबिच पार्टी एकता भएर नेकपा बन्यो ।

२०७७ सम्म पुग्दा यो एकता पनि खल्बलियो । माओवादी धार र एमालेकै माधव नेपाल समूहले पार्टीमा दवाव बढाएपछि तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरिदिए । सर्वोच्चले यो विघटन बदर गरिदियो तर त्यसपछि माओवादी भने सरकारबाट बाहिरियो । २०७८ जेठमा ओलीले गरेको संसदको दोस्रो विघटनपछि नेपाली काँग्रेस, माओवादी र एमालेकै माधव नेपालसहितका नेताहरुको समर्थनमा काँगे्रसका सभापति देउवा प्रधानमन्त्री भए ।

माओवादी सरकारमा सहभागी बन्यो । २०७९ मा काँग्रेस र माओवादी बिच चुनावी गठबन्धन भयो । तर, त्यसपछि सरकार निर्माणको क्रममा भने माओवादीले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई साथ दिएन । प्रतिनिधिसभाको तेस्रो दल भएपनि २०७९ पुष १० मा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको समर्थनमा पुष्पकमल दाहाल फेरि प्रधानमन्त्री भए । सरकार बनेको २ महिनापछि नै एमालेसँगको गठबन्धन तोडेर माओवादी फेरी काँग्रेससँगै सत्तासहकार्यमा जुट्यो । तर ठीक १ वर्ष पछि गत फागुन २१ मा दाहालले काँग्रेसलाई छाडेर एमालेलाई सथ लिए । र, प्रधानमन्त्री पदलाई निरन्तरता दिए । तर, यसपटक भने संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच अकास्मात नयाँ गठबन्धन बन्यो ।

यो सँगै माओवादी सत्ताबाट बाहिरिने बिन्दुमा पुगेको छ । शान्ति प्रक्रियामा आएपछि जनमत क्रमशः घटदै गएपनि अधिकांश समय सरकारको नेतृत्व वा सहभागिता कायम राखेको माओवादी यो पटक सत्ताबाट बाहिरिन पुगे पनि उसले पुनः सत्तामा कायम रहने वा चाँडै पुनरागमन गर्ने प्रयास भने छोडेको छैन ।