
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले आफूले भ्रष्टाचार गर्नेहरुसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकीर गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भूटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरु डराएको बताउनुभयो ।
बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बलिएको प्रधानमन्त्री दाहालले बताउनुभयो । सोही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गर्नुभयो । उहाँले जनताले आफ्नो शक्ति नदेखाए पुनः सरकार माफियाहरुको हातमा जाने जिकीर गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरू भयो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरू भयो, अर्को समूह डरायो । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बलिएजस्तो भयो । त्यही वर्गले देशको पहिलो र दोश्रो दल मिलायो । यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो । जनतालाई मेरो अपील छ, जाग्नुस् र तपाईहरूले पनि अब आफ्नो शक्ति देखाउनुस् । जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पूूरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ ।’
प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफूले पूर्ण निष्पक्ष ढंगले गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्