१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपतिनाथको मन्दिरमा विशेष सुरक्षा व्यवस्था


1.729k
Shares

काठमाडौं । साउन महिनामा पशुपतिनाथको मन्दिरमा भक्तजनको बढी भीड लाग्ने हुनाले विशेष सुरक्षाको व्यवस्था गरिएको छ ।

साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ । यस वर्ष साउन महिनामा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा अझ बढी भीड हुने भएकाले विशेष सुरक्षाको व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा आजदेखि चहलपहल सुरु भएको छ । साउनका चार सोमबार, चार शनिबार, नागपञ्चमी, गुरुपूर्णिमामा बढी भीड हुने भएकाले त्यसैअनुसार तयारी गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

साउनमा पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान तीन बजेदेखि खुला गरिनेछ । साउन महिनामा आउने भक्तजनका लागि सहज होस् भनी चारै ढोका बिहान तीन बजेदेखि नै खुला गर्न लागिएको हो ।

पशुपति क्षेत्रमा लाग्न सक्ने भीडलाई व्यवस्थित गर्ने गरी कोषले स्वयंसेवकसमेत खटाउने जनाइएको छ ।