१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्युरोडको फुटपाथ विस्तार कार्यमा स्थानीयद्वारा अवरोध


5.876k
Shares

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने कार्यमा स्थानीयले फेरि अवरोध गरेका छन् ।

फुटपाथ विस्तारको विरोध गर्दै स्थानीय उत्रिएपछि नेपाल प्रहरी र नगरप्रहरीले सुरक्षा व्यवस्था कडा पारेका छन् । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो ।

फुटपाथ बिस्तारको काम वडा नं.४ मा भइ रहेपनि २२ वडामा भने विरोध गरिएको छ । आज बिहानै महानगरपालिकाले कार्य शुरु गर्नासाथ स्थानीयले विरोध गर्दे त्यस कार्यमा अवरोध गरेका हुन् ।