
काठमाडौँ । सौरमासअनुसार श्रावण महिनाको पहिलो सोमबारको व्रत आजदेखि शुुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको हो ।
गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताउनुभयो ।
श्रावण महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिन्छ । श्रावण महिनाको सोमबार हिन्दू महिलाले व्रत बस्ने परम्परा रहेको छ ।
पशुपतिनाथको मन्दिरमा चान्द्रमास र सौरमास दुवै अनुसारका श्रावणको सोमबारका दिनमा दर्शनार्थीको भीड लाग्दछ । आजदेखि श्रावण महिनाको पहिलो सोमबारको व्रत शुरु भएकाले यसका लागि पशुपति क्षेत्रमा सम्पूर्ण तयारी सकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
श्रावणको सोमबार पशुपतिनाथमा भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको जनाइएको छ । पशुपतिनाका चार वटै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिने पनि बताइएको छ ।
श्रावणको सोमबारका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । श्रावणको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।
श्रावण महिनामा बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको घुइँचो लाग्दछ ।
श्रावण महिनामा सोमबारका दिन पशुपतिनाथका साथै काठमाडौँ उपत्यका र देशभरका शिवालयमा आशुतोष भगवान शिवको पूजा गर्ने भक्तजनको भीड लाग्दछ । श्रावण महिनाभरि सोमबारको व्रत गरेका भक्तजनले अन्तिम सोमबारको दिन गोदान तथा पूर्णपात्र दान गरेर व्रत समापन गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्