२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विमानस्थलमै विमान दुर्घटना


1.599k
Shares

काठमाडौं । नेपालको आन्तरिक उडान क्षेत्र भौगोलिक अवस्थाका कारण यसै पनि असुरक्षित मानिन्छ । त्यसमाथि विमानस्थलमै उडान र अवतरणका क्रममा हुने दुर्घटनाले यो क्षेत्रमा झन् त्रासको वातावरण सिर्जना गरेको छ ।

बुधबार बिहान नेपालको हवाई इतिहासमा अर्को अप्रिय घटना थपियो । सौर्य एयरलाइन्सको ९–एनए एमई विमान त्रिभुवन विमानस्थलबाट उड्ने वित्तिकै धावनमार्गबाट चिप्लिएर दुर्घटना हुँदा विमानमा सवार १८ जनाको घटनास्थलमै मृत्यु भयो । यद्दपी विमानका पाइलट भने ककपिटबाट उछ्रिटिएका कारण बाँच्न सफल भए । घाइते अवस्थाका पाइलटको अस्पतलामा उपचार जारी छ ।

बुधबार बिहान ११ बजे उडान भरेको केही समयमा धावनमार्गबाट घिर्सिएर विमानस्थलको पूर्व पट्टी रहेको एअर डाइनेस्टिको ह्यांगरमा ठोक्किँदै तल झरेपछि आगलागी मात्र भएन विमान टुक्रा टुक्रा भई भग्नावशेषमा परिणत भयो । तर संयोग नै मान्नुपर्छ एअर डाइनेष्टीको ह्यांगरमा सधै ६ जना कर्मचारी खान गएकाले उनीहरुको ज्यान जोगियो ।

आजको दुर्घटनाको अर्को संयोग कस्तो छ भने दूर्घटनामा मृत्यु हुनेहरुमा एअरलाइन्सका कर्मचारी र उनीहरुका परिवारका सदस्य रहेका छन् । दुर्घटनाको खबर पाएलगत्तै विमानस्थल पुगेका परिवारजनहरुमा भने रुवावासी चलेको थियो । दुर्घटनापछि उद्धार कार्य नसकिंदासम्म त्रिभुवन बिमानस्थलबाट हुने सम्पुर्ण उडान तथा अवतरण प्रभावित भएको थियो ।

दुर्घटना लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगाएत तीन वटै सुरक्षा निकायका प्रमुखहरुले घटनास्थलको अवलोकन गरेका थिए । सोही क्रममा पर्यटन मन्त्री बद्री पाण्डेले नेपालमा बारम्बार भईरहने विमान दुर्घटनाको गम्भीर अध्ययन अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

नेपालको हवाई उडान यसै पनि विश्वब्यापी रुपमा बदनाम छ । युरोपेली युनियनले एक दशकदेखि नेपालको आन्तरिक उडानलाई कालोसूचिमा राखेको छ । हवाई सुरक्षाको सवालमा राज्यले गम्भीर र निर्मम समीक्षा नगर्ने हो भने अवस्था झन् खराब नहोला भन्न सकिँदैन ।