१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेरिस ओलम्पिकमा आजका खेलहरु


312
Shares

काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । आज नेपालकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान र ब्याडिमिन्टनका प्रिन्स दाहालको खेल रहेको छ ।

जुडो खेलाडी मनिताले महिला ५७ केजी मुनिको तौल समुहमा सर्वियाकी मार्सिया पेरिसिचको सामना गर्नेछिन् । यो खेल पेरिसको च्याम्प डे मार्स एरिनामा नेपाली समय अनुसार पौने दुई बजे सुरु हुनेछ । यो खेलको विजेता राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्नेछ ।
आजै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले समुह चरणको दोस्रो खेलमा आयरल्याण्डका नाहट एन्गुएनको सामना गर्नेछन् । खेल पेरिसको ला चापेल एरिनामा नेपाली समय अनुसार राती १ बजे हुनेछ ।

समुहको पहिलो खेलमा नेपालका प्रिन्सलाई डेनमार्कका भिक्टर अक्सेल्सनले २÷० को सोझो सेटमा हराएका थिए । आइरिस खेलाडी एन्गुएनले भने पहिलो खेलमा इजरायलका मिसा जिल्बरम्यानलाई २÷१ को सेटमा पराजित गरेका थिए ।

समुह पि मा रहेका प्रिन्स यो समुहका चारमध्ये सबैभन्दा तल्लो वरियताका खेलाडी हुन् । डेनिस खेलाडी अक्सेल्सन पुरुष एकलको वरियतामा शीर्ष नम्बरमा रहेका छन् भने आयरल्याण्डका एन्गुएन ४२ औं तथा इजरायलका जिल्बरम्यान ५१ औं वरियतामा रहेका छन् ।

नेपालका प्रिन्स भने १७९ औं स्थानमा छन् । पेरिस ओलम्पिकमा सहभागि सातमध्ये तीन नेपाली खेलाडी पहिलो खेलबाटै बाहिरिएका छन् । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, शुटिङ्गकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा प्रारम्भिक चरणबाटै बाहिरिएका हुन् ।