
काठमाडौं । नयाँ सरकार गठनदेखि नै उछाल आएको शेयर बजारमा मंगलबार डेढ सय अंकको पहिरो गयो ।
तीव्र उतार चढावबीच नेप्से १ सय ४५ अंकले झरेर २६ सय ५१ मा आइपुग्यो । कारोबार भने अझै बढेर नयाँ रेकर्ड नै कायम भयो ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा ३ सय २२ कम्पनीको ५ करोड ३८ लाख कित्ता शेयर २३ अर्ब ७१ करोड ६७ लाख बराबमा किनबेच भयो । यो हालसम्मकै उच्च कारोबार हो । मंगलबार साउन १६ गते २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको रेकर्ड कायम भएको थियो । दिनभर झण्डै पौने दुई सय अंकको उतार चढाव आयो । नेप्सेले २८ सय १५ को उचाइदेखि २६ सय ४४ को ओरालोसम्म झर्दै १ सय ७१ अंकको उतार चढाव आयो ।
सबै समूह राताम्मे रहँदा वित्त समूहमा सबैभन्दा उच्च साढें ८ प्रतिशतको गिरावट आयो । होटल समूह पनि ८ प्रतिशत बढीले झर्दा जीवन बीमा र लगानी समूहमा पनि ६ प्रतिशत बढीको गिरावट आयो । पछिल्ला दिन लगानीकर्ता झुम्मिएका वाणिज्य बैंक समूहमा पनि करिब ६ प्रतिशतको गिरावट आयो । विकास बैंक र व्यापार समूहमा पनि ६ प्रतिशत नजिकको गिरावट आउँदा बाँकी समूहमा पनि उल्लेख्य दरको कमी आयो ।
मंगलबार २ सय ३३ कम्पनीको मूल्य घट्दा जम्मा ८ को बढ्यो । झण्डै दुई दर्जन कम्पनीका शेयर नकारात्मक सर्किट लेबलमा कारोबार भए । कारोबार रकम उच्च रहेकाले बजारको वृद्धिमा ब्रेक नलागेको विश्लेषकका तर्क छ ।
प्रतिक्रिया दिनुहोस्