२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शेयर बजारमा करेक्सन, कारोबार ह्वात्तै घट्यो


2.86k
Shares

काठमाडौं । पछिल्ला चार दिन यता उच्च अंकले बढ्दै आएको शेयर बजारमा मंगलबार झिनो अंकको करेक्सन भएको छ ।

नेप्से ८ दशमलव १८ प्रतिशतले घटेर २९ सय २३ दशमलव ४६ विन्दुमा रोकिएको छ । बजार घटेसँगै मंगलबार कारोबार रकम पनि ह्वात्तै खुम्चिएको छ ।

सोमबार २७ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३३२ स्टकको ५ करोड २७ लाख कित्ता शेयर २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज पाँच वटा उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ ।

वित्त उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ५७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव २५ प्रतिशत घटेको छ । मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर नेपाल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्सको सर्वाधिक ८१ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ६८ करोड २१ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । यस्तै शिवम् सिमेन्टको ४४ करोड रुपैयाँ बढीको शेयर खरिद विक्री भएको छ ।