
काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोक्नुभएको हो ।
त्यस्तै राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन पनि साउन ३१ गते हुने भएको छ ।
संघीय संसदको संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति २०८१ साल साउन ३१ गते हुने सभामुख घिमिरेले घोषणा गर्नुभयो ।
सभामुख घिमिरेले उक्त निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक साउन ३० गते बुधवार दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्