
काठमाडौं । सोलुखुम्बुको खुम्बुमा हिमताल फुटेर आएको बाढीले थामे गाउँमा ब्यापक क्षति पु¥याएको छ ।
थामेखोलाको शिरतिर रहेका हिमताल फुटेर बाढी आएको आशंका गरिएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर ५ को थामेमा सात वटा निजी घर, पाँच वटा होटल, एउटा क्लिनिक र एउटा विद्यालय गरी १४ वटा संरचनामा पूर्ण रुपमा क्षति पु¥याएको छ ।
सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले अहिलेसम्म मानवीय क्षतिको जानकारी नआए पनि एक जना मानिस हराईरहेको भन्ने सुनिएको बताउनुभयो । सिंगो थामे गाउँभरि बाढी पसेकाले लगभग सवै घरमा बाढी पसेको छ भने क्षतिको यकिन विवरण आउन नसकेको पनि डीएसपी घिमिरेले जानकारी दिनुभयो । नेपाली सेना र प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको र बाढीको रफ्तार घट्दै गएपछि यकिन विवरण लिन सकिने बताउनुभयो ।
सदरमुकामबाट घटनास्थल पुग्न चार पाँच दिनको पैदल दुरी पार गर्नुपर्दछ । बाढी थामे गाउँमा पसेको खबर पाएलगत्तै नजिकै रहेको नेपाली सेनाको ब्यारेकबाट सैनिक उद्धारकर्मीहरु परिचालन गरिएको थियो । थामेखोलमा बाढी आएपछि त्यसको असर दूधकोशी नदीमा पनि परेको छ ।
दूधकोशीमा पनि ठूलो बाढी आएको बताइएको छ । दूधकोशी नदी किनार आसपासका बस्तीहरुमा सतर्कता अपनाउन भनिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्