
काठमाडौँ । सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताउनु भएको छ ।
आज रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीबिच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास लिँदै यस पर्वले कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्नुभयो ।
रक्षाबन्धन दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व भएको र यस पर्वलाई पारिवारिक मेलमिलाप बढाउने उत्सवको रुपमा लिइने उहाँले उल्लेख गर्नुभएको छ ।
रक्षाबन्धन हिन्दू समुदायले महत्वका साथ मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेका छन् ।
‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक हो । नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको छ । कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य हो’ सभामुखको शुभकामना सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्