
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि शुरु हुँदैछ ।
गत साउन ३१ गते सम्पन्न भएको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता तथा बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालका साथै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू तथा प्रदेशका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ । उक्त बैठक बिहीबार सम्पन्न हुनेछ भने परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा असोज ३ गतेसम्म चल्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्