२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संविधान दिवस भव्य रुपमा मनाउने तयारी


546
Shares

काठमाडौं । सरकारले संविधान दिवस २०८१ भव्य रुपमा मनाउने तयारी गरेको छ । यो दिवसलाई जनस्तरमा स्मरणीय तथा हर्र्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गृह मन्त्रालयले आयोजना गरेको बैठकले संविधान सभाबाट नेपालको संविधान जारी भएको दिन २०७२ असोज ३ लाई राष्ट्रिय रूपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावली लगायतका विविध कार्यक्रम तय गरेको होे ।

असोज २ गते नारायणहिटी दरबारमार्गमा सांगितिक महोत्सव (नेसनल डे कन्सर्ट) र दिवसका दिन असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षबाट संविधान प्राप्त भएकाले संविधान दिवसलाई राज्यस्तरबाट मनाइनुका साथै सबै जाति, समुदाय र भूगोलका जनताले स्वतःस्फूर्त रूपमा दिवस मनाउनुपर्ने बताउनुभएको छ । संविधान दिवस देशको सबैभन्दा ठूलो चाड भएको भन्दै उहाँले कुनै जाति, समुदाय र भूगोल विशेष होइन भन्नुभयो ।