२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एकीकृत समाजवादीको बैठक आज पनि बस्दै


91
Shares

काठमाडौं । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारबाट शुरु भएको बैठकमा पदाधिकारी चयनबारे छलफल भइरहेको छ ।

एकीकृत समाजवादीमा पदाधिकारी चयन सहमतिबाटै गर्ने कि चुनावै गराउने भन्नेमा अझै सहमति जुट्न सकेको छैन । पार्टीको शीर्ष नेतृत्व सहमतिबाट टुंग्याएकाले बाँकी पदाधिकारी पनि सर्वसम्मत नै टुंग्याउनुपर्ने केही नेताहरुको राय छ । तर अधिकांश केन्द्रिय सदस्य तथा पदाधिकारीका आकांक्षी भने त्यसमा तयार छैनन् ।

पदाधिकारीको आकांक्षी धेरै भएकाले चुनाव नै उत्तम विधि हुने उनीहरुको तर्क छ । यसबारे आज प्रदेशका पदाधिकारीसँग राय लिइने एकीकृत समाजवादीले बताएको छ ।

एकीकृत समाजवादीमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ । जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल महाधिवेशनको हलबाट निर्वाचित हुनुभएको थियो भने १८ पदाधिकारी चयन हुन बाँकी छ ।