
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदुत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाउनुभएको छ ।
सोमबारको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताउनुभएको हो ।
समितिको बैठकमा सांसदहरुले सरकारले विभिन्न १७ देशका लागि गरेको राजदुत नियुक्ति समावेशी नभएको प्रश्न उठाएपछि परराष्ट्रमन्त्री राणाले आगामी दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिस गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महशुस गरेको बताउनुभयो ।
परराष्ट्रमन्त्री राणाले सरकारले गरेका कामहरुमा समितिले सुझाव दिएपछि नै सरकारले सच्चिने अवसर पाउने बताउनुभयो । उहाँले राजदुत सिफारिसका लागि आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भएपनि सोअनुसार नपाएको बताउनुभयो । उहाँले कुनैपनि ठाउँमा निर्णायक पदमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्ने बताउनुभयो ।
परराष्ट्रमन्त्री राणाले निश्चित सहभागिता गराउनैपर्ने बाध्यकारी कानून बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले राजदुत सिफारिसमा सरकार गम्भीर रहेको बताउनुभयो । आगामी दिनमा समावेशी र समानुपातिकतालाई मध्यनजर गर्ने बताउनुभयो ।
परराष्ट्रमन्त्री राणाले हरेक सरकारी प्रतिनिधिमण्डलमा एक भन्दा धेरै हुने बित्तिकै एक जना महिलाको उपस्थिति अनिवार्य राख्नैपर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको पनि बताउनुभयो ।
मन्त्री राणाले देशमा असमानता, असमावेशिताहरु कायम रहेको भन्दै यसलाई हटाएर लैजान सरकार प्रतिवद्ध रहेको बताउनुभयो । नेपालको कुटनीति समय सापेक्ष बनाउन पहल गरिरहेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्