२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउँछ : उद्योगमन्त्री भण्डारी


195
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार राजधानीमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले इथानोल उत्पादनको लागि विदेशी लगानीमा समेत इथानोल उत्पादन गर्ने धेरै प्रश्तावहरु आएको भन्दै कसरी उत्पादन गर्ने विषयमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा निचोड निकाल्ने उल्लेख गर्नुभयो ।

उद्योगमन्त्री भण्डारीले चिनी उत्पादक संघबाट मात्रै सम्भव छ वा अन्यबाट पनि गर्न सकिन्छ त्यसको अध्ययन गर्ने जानकारी दिनुभयो । उहाँले इथानोल मिश्रण सरकारको विशेष प्राथमिकतामा रहेको भन्दै प्रतिकुल वातावरणमा पनि अगाडि बढाउन तयार रहेको बताउनुभयो । उहाँले नेपाललाई वार्षिक आवश्यक चिनी ३ लाख मेट्रिक टन आवश्यक रहेको भन्दै त्यसमा १ लाख ८० हजार मेट्रिक टन आयात भइरहेको बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले १ लाख ८० हजार मेट्रिक टन आयात हुँदा पनि बजारमा अभाव रहेको भन्दै इथानोलमा पनि यही नियति नेपाल आयल निगमले भोग्नुपर्ने अवस्था देखिएको बताउनुभयो । उहाँले आयात गरेर इथानोल बनाउँदा उपभोक्तामा जाँदा सहज मूल्य हुनुपर्ने बताउनुभयो । उहाँले १० हजार मेट्रिकटन इथानोल नबनाउँदा आइरहेको भन्दै करिव १ अर्बको आसपासमा आयात भइरहेको बताउनुभयो ,

उद्योगमन्त्री भण्डारीले आयातलाई २० प्रतिशत कम गरी आयात प्रतिस्थापन हुने बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको बताउनुभयो । उहाँले आगामी एक महिनाभित्र मूल्य निर्धारण लगायतका काम टुंग्याउने प्रतिवद्धता जनाउनुभयो ।

उद्योगमन्त्री भण्डारीले इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेको भन्दै सरकारले आयाल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत बताउनुभयो । इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना हुने बताउनुभयो । उहाँले इथानोल उत्पादनले मुलुकको कृषि क्षेत्रमा फाइदा हुने बताउनुभयो । उहाँले मुलुकमा जलविद्युत उत्पादनको ठूलो सम्भावना भएपनि तत्काल आवश्यकता अनुसार उत्पादन गर्न नसक्ने भन्दै वातावरणमा पनि राम्रो हुने बताउनुभयो । उहाँले १० प्रतिशतसम्म इथानोल प्रयोग गर्दा सवारी साधनको इन्जिन पनि परिवर्तन गर्न नपर्ने अवस्था रहेको बताउनुभयो ।

नेपाल आयाल निगमका प्रमुख कार्यकारी अधिकृत डा. चण्डिकाप्रसाद भट्टले इथानोल उत्पादन र प्रयोग हुँदा इन्धनको खपत घट्ने बताउनुभयो । उहाँले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउँदै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले विलम्व हुन गएको बताउनुभयो । उहाँले यसलाई कार्यान्वयनमा लैजाने पहल भइरहेको र केही महिनामै उत्पादन शुरु हुने पनि बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत भट्टले इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि पनि बनाउनुपर्ने भएकाले उद्योग विभागले कार्यविधिका लागि स्वीकृति दिइसकेको बताउनुभयो । उहाँले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताउनुभयो । इथानोल उत्पादनमा धेरै उद्योगहरु तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने बताउँदै उनले वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयो ।