
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र मिर्चैया नगर समितिले मंगलबार बिहान सिरहामा आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले जनताको सङ्घर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताउनुभयो ।
२०७० को निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिँदै उहाँले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताउनुभयो । संविधान जारी भएपछि मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उहाँले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताउनुभयो ।
अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दैे त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताउनुभयो ।
पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेण्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेण्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताउनुभयो । उहाँले त्यसका लागि स्थानीय पार्टी कमिटीहरुलाई आवश्यक योजना बनाएर अघि बढ्न निर्देशन दिनुभयो ।
त्यसअघि अध्यक्ष दाहालले सिराहकै गोलबजारमा स्थानीयसँग छलफल गर्दै आफूले सुरू गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले गोलबजारवासीले विकास र सुशासनका विषयमा राखेको चासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै समग्र मधेसी जनताका अधिकारको सङ्घर्षमा सधैं साथमा रहने दृढता व्यक्त गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्