
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अमेरिका भ्रमणमा देशको प्रभाव, प्रतिष्ठा र हित तल पर्नेगरी कुनैपनि काम नगर्ने बताउनुभएको छ ।
आफ्नो आसन्न संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिने कार्यक्रमबारे सोमबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । सो भ्रमणको क्रममा नेपालको शिर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी नेपालको कुनैपनि हिसावले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम नगर्ने उहाँको भनाई थियो ।
प्रधानमन्त्री ओलीले आफूले देश र जनताको लागि आज भन्दा पनि बढी भोलिका लागि गर्ने नीति लिएको उल्लेख गर्दैै अमेरिकाको आफ्नो भ्रमणमा पनि सोही कुरालाई शिरोधार्य गरेर छलफल गर्ने बताउनुभयो । उहाँले आफूले संयुक्त राष्ट्र संघको भमणबाट फर्केपछि पनि संसदलाई सो बारेमा विस्तृतमा जानकारी गराउने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संयुक्त राष्ट्र संघको भमणबारे मैले यस गरिमामय संसदलाई रिपोर्टिङ गर्नेछु कि मैले यो यो चिज गरेर आएँ, यो यो चिज बोलेर आए भनेर । र, म नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्नेगरी नेपालको कुनैपनि हिसावले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिन । एक जना माननीयजीले पनि अघि बढाउनुभएको थियो कि हामीले गर्ने भनेको राजनीति देश र जनताको लागि हो । आजका लागि हो, आज भन्दा बढि भोलीका लागि हो । त्यसो भएर हामी जुन घरको जग राख्छौं । जग राख्ने वित्तिकै बस्न पाईदैन । जहाँ शिलान्यास गर्छौ, त्यहाँ बस्न पाउदैनौं । र भोलि बस्नका लागि हामी बनाउँछौं । भोलिका लागि केही नगर्ने हो भने त धर्ती बाँझो हुन्छ । अनउर्वर हुन्छ । हामी भोलिका लागि बढि काम गर्छौं । आजका लागि भन्दा । असारका लागि असारका लागि रोपिएको होइन, कार्तिक, मंसिरका लागि हो । यो कुरा बुझेर नै हामी हाम्रो नीतिहरुमा अघि बढ्छौं ।’
प्रधानमन्त्री ओलीले आफूले सो महासभाका लागि बोल्नै कुनैपनि विषय गोप्य नहुने पनि बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले आफूले अमेरिका भ्रमणको क्रमाम कोलम्बस युनिभर्सिटी र हाडवर्ड युनिभर्सिटीमा पनि सम्बोधन गरेर नेपालको प्राज्ञिक क्षेत्रको दृष्टिकोण राख्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्