८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कांग्रेस-एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष दाहाल


234
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि दुई ठूला दल कांग्रेस-एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गर्नुभएको हो ।

अध्यक्ष दाहालले त्यसपछि दुवै दलले संविधान संशोधन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर कहीँकतै सुनिएको थियो रु भनि सहभागीहरुलाई प्रश्न पनि गर्नुभएको थियो । कांग्रेस-एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको अध्यक्ष दाहालको भनाई थियो । उहाँले कांग्रेस-एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले कांग्रेस-एमालेले संविधान संशोधनको एजण्डा कहिल्यै नलिएको बताउनुभयो । मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसमा ठूला दलहरु गम्भिर बन्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई पनि नभएको बताउनुभयो ।