१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन् : पूर्वअर्थमन्त्री खतिवडा


130
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो ।

पूर्वअर्थमन्त्री खतिवडाले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्धिलाई मात्रै विकास भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले अहिले दिगो विकास र दिगो विकासको सामाजिक र आर्थिक पक्ष तथा वातावरणीय पक्ष समेत विकासको परिभाषासँग जोडिएको बताउनुभयो ।

पूर्वअर्थमन्त्री खतिवडाले समृद्धिको बाटो अलि लामो रहेकाले सही बाटोमा हिँडिरहेका छौँ की छैनौँ भनेर सोच्नुपर्ने बताउनुभयो । उहाँले प्रस्थान बिन्दु नै गलत भएको खण्डमा लक्ष्यसम्म नपुगिने भन्दै समृद्धिको मार्गमा जानका लागि कतिपय नीतिहरु मिलाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

पूर्वअर्थमन्त्री खतिवडाले कतिपय नीतिगत कुराहरु अपर्याप्त रहेको महशुस सबैले गरेको भन्दै भएका नीतिहरुले परिणाम दिन नसक्ने बताउनुभयो । समृद्धि भनेको आर्थिक, सामाजिक र मानवीय विकास मात्रै नभइ त्यो भन्दा पनि बढी हुनु रहेको उल्लेख गर्नुभयो । शान्तिपूर्ण समाज सामाजिक, आर्थिक रुपले बलियो र शान्त एवं सद्भावपूर्ण हुनु र भौतिक विकासका दृष्टिकोणले सुविधा सम्पन्न र सुखसँग नागरिकले बस्न पाउने हुनु नै समृद्ध नेपाल र सुखी नेपाली हुने बताउनुभयो ।

पूर्वअर्थमन्त्री खतिवडाले विषादी र रासयनिक मलको कम प्रयोग गरी उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भौतिक र सामाजिक विकाससँगै कृषि, सिंचाईमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले डिजिटल इकोनोमि आजको आवश्यकता रहेको भन्दै यसले विद्युतीय अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताउनुभयो ।

सामाजिक संरक्षणसम्बन्धी नीतिहरु दक्षिण एशियामै नेपालको उत्कृष्टा रहेको भन्दै दिगो, टिकाउ र सर्वव्यापी बनाउन जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।