९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सरकारले उद्धार, राहत र पुनर्निर्माणको कामलाई अझै प्रभावकारी ढंगले अघि बढाउँछ : प्रधानमन्त्री ओली


286
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट पीडितहरुको उद्धार, राहत र पुनर्निर्माणको कामलाई सरकारले अझै प्रभावकारी ढंगले अघि बढाउने बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिएर सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले आफ्नो बुँताअनुसार उद्धार र राहतको काम गरेको उल्लेख गर्दै त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतको काम गर्दागर्दै पनि विरोधका लागि विरोध गर्ने परिपार्टी राम्रो नभएको पनि बताउनु भयो । उहाँले विपद् जस्तो संवेदनशील बेलामा सबैले मिलेर यथार्थपरक ढंगले चल्नु वाञ्छनीय हुने बताउनुभयो । आफूले बाहिर बसेर पनि सो विपद्को सामना गर्नका लागि सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिने काम गरेको र सरकारले पनि सोही अनुसार काम गरेको प्रधानमन्त्री ओलीको दाबी थियो । बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा सरकारले तत्काल मिटिङ बसेर उद्धार र राहतका लागि सेना, प्रहरी परिचालन गरेको पनि स्मरण समेत उहाँले गराउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले महासभामा भाग लिने क्रममा भारतीय समकक्षी मोदीसँग भेटेको र द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको पनि बताउनुभयो । त्यसैगरी जलवायु परिवर्तन लगायतका विश्वस्तरीय समस्या विश्वका सबै राष्ट्रहरु मिलेर समाधान गर्नुपर्ने कुरा पनि राखेको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले जलवायु परिवर्तनको असर निम्त्याउने राष्ट्रहरुले क्षतिपूर्तिका लागि बढी लगानी गर्नुपर्ने कुरालाई पनि आफूले सो महासभामा जोड दिएको राखेको बताउनुभयो ।

त्यस अवसरमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले प्रधानमन्त्री ओलीले महासभामा भाग लिने क्रममा गर्नुभएको राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको भेटलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।