
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिमा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले आफूविरुद्ध ५ अर्ब खान लागेको भन्ने गलत प्रचार गरेको बताउनुभएको छ ।
मंगलबार आफूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले त्यो समयमा एमाले सरकारमा भएपनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब लिने कुरा आफूले नगरेको बताउनुभयो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले आफू निकट पत्रिकामा समाचार लेखाएर हल्ला फिँजाएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगर्न सरकारलाई खबदारी गरेपछि प्रधानमन्त्री झस्किएर भोलिपल्ट ५ अर्ब खाने भयो भन्ने समाचार लेखाएको बताउनुभयो । उहाँले आफू कमिसनका निम्ति काम गर्ने नभई देशका निम्ति काम गर्ने र भ्रष्टाचार गर्ने नभइ, रोक्ने मान्छे भएकाले भ्रष्टाचार काम आफूबाट हुन नसक्ने बताउनुभयो । उहाँले अध्यक्ष नियुक्ति गर्ने अर्थमन्त्री एउटा र प्रधानमन्त्री अर्को हुँदा बाहिरको बसेको आफूलाई ५ अर्ब खाने भयो भनेर अफवाह फैल्याइएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले शेयर मार्केटमा तलमाथि हुनु स्वाभाविक प्रक्रिया भएको बताउनुभयो । उहाँले विपद्जन्य घटनाका कारण देशको अर्थतन्त्रमा ठूलो धक्का लागेको अवस्थामा शेयर मार्केट तल जानु स्वाभाविक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्