२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिपक्ष दलहरुले सरकारलाई ज्ञापन पत्र बुझाउने


0
Shares

काठमाडौं । प्रतिपक्ष दलहरुले जनसरोकारका विभिन्न विषयहरुमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापन पत्र बुझाउने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुको आज बसेको बैठकले जनसरोकारका विषय सम्बोधन गर्न सरकार असफल भएको निष्कर्ष निकाल्दै सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।

बैठकले प्राकृतिक विपद्को समयमा सरकार जनताप्रति जवाफदेही नभएको निष्कर्ष पनि निकालेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार जनसरोकारका विषयहरु सम्बोधन गर्न केन्द्रीत नभइ निहित स्वार्थलाई प्राथमिकतामा राखेर अगाडी बढेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन लागिएको बताउनुभयो ।

यस्तै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकारवादी मुद्दा रहेको व्यक्तिसँग प्रधानमन्त्री ओलीले आफ्नो पार्टी भवन बनाउन सहयोग लिएको विषयमा सरकारलाई प्रतिपक्ष दलले खबरदारी गरेर ज्ञापन पत्र बुझाउने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले प्रधानमन्त्रीले विगतदेखि नै अध्यादेशमा काम गर्ने गरेको भन्दै फेरि पनि साना दलहरुलाई फुटाउने गरी अध्यादेश ल्याउनसक्ने शंका बढेको बताउनुभयो । यस विषयमा प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुख समेतलाई ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीको उपस्थिति रहेको थियो । लोसपा र नागरिक उन्मुक्ति पार्टी भने सरकारमा समेत रहेका छन् ।