९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सरकार ढल्ने अफवाह फिँजाइ दिवा स्वप्ना नदेख्नुस् : प्रधानमन्त्री ओली


897
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने अफवाह फिँजाइ दिवा स्वप्ना नदेख्न आग्रह गर्नुभएको छ ।

सरकार सञ्चालन गरेको सय दिने उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना नदेख्न आग्रह गर्नुभयो । उहाँले सय दिन पूरा गरेपछि नभइ सरकार बनेकै दिनदेखि सरकारविरुद्ध विरोध सुरु भएको भन्दै देशमा साम्प्रदायिक विद्वेष खडा काम सुरु भएको बताउनुभयो ।

अराजनीतिक बोली र व्यवहारबाट सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरु बन्द गराउने, पूँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहस नहस पार्ने र नयाँ उद्योग स्थापना हुन षड्यन्त्रहरु सफल हुन नदिने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नरहेको बताउनुभयो । सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिने र अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा बिस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सीमित स्रोतसाधन, विरासतमा प्राप्त भएको बिग्रँदो आर्थिक अवस्था र अचानक आइपरेको प्राकृतिक विपद्का बावजुद सरकारले नीति तथा कार्यक्रम र बजेटको कार्यन्वयनलाई शिघ्र, प्रभावकारी, नतिजामुखी र नागरिकमैत्री बनाउँदै कार्यान्वयन गरिरहेको बताउनुभयो । उहाँले बारम्बार सरकार फेरबदलका घटनाहरुले ब्युरोक्रेसी नै अल्मलिएको बताउनुभयो ।