
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम तिर्न उद्योगीहरुलाई दिएको समय सीमा आज सकिँदैछ ।
प्राधिकरणले गत असोज २४ गते डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो ।
उक्त समयभित्र उद्योगीहरुले बक्यौता बुझाएका छैनन् । यसबारे निर्णय गर्न नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बस्दैछ । ऊर्जा मन्त्रीको अध्यक्षतामा रहने बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिवलगायतका सदस्य रहेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव रहने बोर्डको बैठकमा उद्योगीहरुबाट बक्यौता रकम असुल्ने उपायबारे छलफल हुनेछ । प्राधिकरणले अधिक लोडसेडिङको समयमा २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्