
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताउनु भएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाको भनाइ छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताउनुभयो ।
सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको बताउनुभयो । विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैलाइएको बताउँदै उहाँले राहत तथा खोजी उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मीहरू तैनाथ गरी व्यवस्थापन गरेको बताउनुभयो ।
वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले—काँग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने सभापति देउवाले बताउनुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ । बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम । दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो ।’
सभापति देउवाले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरू आउनु स्वाभाविक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्