२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


पाल्पामा दुई दिने ‘सम्पदा साइकल राइड’ सञ्चालन


286
Shares

पाल्पा । पाल्पा साइक्लिङ संघको आयोजनामा जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पामा शुक्रवारदेखि दुई दिने ‘सम्पदा साइकल राइड’ सञ्चालन गरिएको छ ।

संघले पाल्पालाई साइक्लिङ गन्तव्यको रुपमा विकास गर्ने मुख्य उद्देश्यका साथ देशभरिका साइकलयात्रीहरुको पाल्पामा जमघट गराई हेरिटेज राइड सञ्चालन गरेको जनाएको छ ।

सम्पदा राईडको लुम्विनी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले तानसेनको टुंडिखेलबाट शुभारम्भ गर्नुभयो । शुक्रबार विहान ७ बजे तानसेनको टुंडिखेलबाट शुरु भएको हेरिटेज राइडको टोलीले पहिलो दिन रुरु क्षेत्र रिडीसम्म यात्रा तय गरेको छ ।

दोस्रो दिन शनिवार रुरु क्षेत्रका ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन गर्दै ऋषिकेशव मन्दिरबाट साइक्लिङ यात्रा शुरु गरेर कालिगण्डकी करिडोर हुँदै रानीमहल, रानीमहलबाट हात्तीढुङ्गा, अवल, नारायणडाँडा हुँदै गोर्खेकोटबाट तानसेनमा आएर समापन हुनेछ ।

साइकल यात्रामा १ सय ५० यात्रुहरु सहभागी भएका छन । यात्रामा १४ वर्ष उमेर देखि ६५ वर्ष उमेर सम्मका व्यक्तिहरु सहभागी छन् ।

साइकलयात्राले पाल्पाको धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार प्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको वृद्धि हुनुकासाथै पाल्पालाई साइकलयात्राको गन्तव्यको जिल्ला बनाउने अभियानमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।