
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मतदानस्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नहुञ्जेलसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको छ ।
आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
आइतबार बसेको आयोगको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन पनि आग्रह गरेको छ ।
यस्तै मतदाताहरूलाई पनि बिदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक व्यवस्था गरेर मतदान गर्ने सहज व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तह, निजी औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आग्रह गरेको छ ।
आयोगले उपनिर्वाचनका लागि मतदाता परिचयपत्र बाहेक अन्य सरकारी कागजातका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन पनि निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।
साथै आयोगले आउँदो मंसिर १६ गते आइतबार विहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा गई मतदान गरेर आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई पनि आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्