
काठमाडौं । नेपाली कांग्रेसले युवाहरुको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ ।
कांग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा संकल्प यात्राको निचोड सार्वजनिक गर्दै कांग्रेसले सो सुझाव पेस गरेको हो ।
बिहीबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहीले सरकारले छिटो भन्दा छिटो युवालाई रोजगारी सिर्जना हुने कामहरु गर्नुपर्ने माग आम जनता र युवाहरुको रहेको बताउनुभयो । उहाँले बेरोजगारीको विकराल अवस्थाका कारण युवाहरु आक्रोशित भएको र युवाहरुको आक्रोशलाई नजरअन्दाज गर्दा भविष्यमा ठूलो विद्रोह पैदा हुनसक्ने चेतावनी दिनुभयो ।
नेता शाहीले आफ्नो दलको सरकार रहेपनि आफूहरुले युवा, बेरोजगार पीडितहरुको पक्षमा, सहकारी पीडितको पक्षमा, महंगीको मारमा परेका आम जनताको पक्षमा, किसानको पक्षमा, मजदुरको पक्षमा आवाज उठाउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं सडकमा चक्का जाम गरेर भाषण गर्नुपर्ने अवस्थाले युवाहरु आक्रोशित हुन स्वभाविक रहेको पुष्टि हुने उहाँको जिकिर थियो ।
नेता शाहीले आम जनताले अहिले सबैभन्दा बढी सरकार र राजनीतिक दलहरुसँग भ्रष्टाचार नियन्त्रणमा जोड दिनुपर्ने चाहना राखेको बताउनुभयो । कार्तिक २३ गतेबाट मेचीनगरदेखि शुरु भएको युवा संकल्प यात्रा मंसिर ४ गते महेन्द्रनगरमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्