२२ फाल्गुन २०८१, बिहिबार | Fri Mar 7 2025


कर्मचारीले प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास हुनु राम्रो होइन : सभापति खतिवडा


1.807k
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास हुनु राम्रो नभएको बताउनुभएको छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति खतिवडाले यस्तो बताउनुभएको हो ।

सभापति खतिवडाले मुख्य सचिवले कर्मचारीहरुलाई निर्देशन दिँदा निर्देशन पालना नहुने गरेको बताउनुभयो । उहाँले सरकार र मुख्य सचिवले भनेको नमान्ने तर अख्तियारले भन्दा १० मिनेटमा काम गर्ने प्रचलन कर्मचारीतन्त्रमा हावी भएको बताउनुभयो ।

सभापति खतिवडाले अख्तियारसँग डण्डा, कानून र हत्कडी लगाउने क्षमता भएपनि सही रुपमा प्रयोग हुनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारका विषयमा बेनामी उजुरीहरु दिन पाउने/नपाउने विषयमा राज्य व्यवस्था था सुशासन समितिमा छलफल भइरहेको बताउनुभयो ।

सभापति खतिवडाले समितिले बेनामीमा भ्रष्टचारको मुद्दा दर्ता गर्न नपाउने व्यवस्था राख्ने गरी कानून बनाउन लागेको बताउनुभयो । उहाँले बजेट छुट्याउँदैमा मानिसहरु जेल जानुपरे विकास निर्माणका कामहरु अगाडी बढ्न नसक्ने बताउनुभयो । उहाँले अदालतमा मुद्दा दर्ता हुने बित्तिकै निलम्वन हुने पद्धतिले भविष्यमा राम्रो नगर्ने बताउनुभयो ।

सभापति खतिवडाले पछिल्लो समय नीतिगत भ्रष्टाचारका विषयहरु उठेको भन्दै सह–सचिवको जिम्मेवारीमा रहेको काम सचिव र सचिवबाट हुने काम मन्त्रीमा लैजाने अवस्था आएको बताउनुभयो । उहाँले समितिलाई नीतिगत व्यवस्था कस्तो बनाउने भन्ने दायित्व रहेको भन्दै समितिले सो विषयमा स्पष्ट बनाएर संसदमा पठाउने उल्लेख गर्नुभयो ।

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेले राम्रो काम गर्ने भनेर नाम चलेको व्यक्ति टाउकोमा हाल्ने प्रवृत्ति राम्रो नभए बताउनुभयो । उहाँले जबसम्म त्यो खालको प्रवृत्ति रहेसम्म बेरुजु आउने प्रक्रियाको अन्त्य नहुने बताउनुभयो । उहाँले जसले चेक काट्यो उसैमाथि बेरुजु हुनुपर्नेमा समिति स्पष्ट रहेको बताउनुभयो ।

मुख्यसचिव एकनारायण अर्यालले शासनमा सहकार्य गर्ने सबै पात्रहरु नैतिकता, सदाचार्यता र इमान्दारीता मूल्य विकास गरी नैतिक रुपमा उन्नत र समुन्नत नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफूलाई नैतिकवान ठानिरहँदा अरुलाई अनैतिक ठान्ने प्रवृत्ति बढी देखिएको बताउनुभयो । उहाँले नैतिकता हराइरहेको समाजमा नैतिकवान समाज निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मुख्यसचिवअर्यालले बहुआयामिक रुपमा रहेको भ्रष्टाचारलाई सार्वजनिक, सरकारी, निजी क्षेत्र एवं नागरिक समाजसँगको सहकार्य र सहयोगमा निर्मुल बनाउनु आवश्यक रहेको बताउनुभयो ।