
काठमाडौं । पछिल्ला पाँच दिनदेखि लगातार घटिरहेको शेयर बजारमा बुधबार भने एकाएक वृद्धि देखिएको छ ।
दिनभर सामान्य अंकको उतार बढाव भईरहेको बजार २ बजेपछि बढ्न थालेर अन्तिममा ४५ दशमलव ८८ अंकले बढेको छ ।
बुधबारको वृद्धिसँगै बजार परिसूचक नेप्से २७ सय १५ दशमलव ७१ को विन्दुमा पुगेको छ । बैंकिङ्ग उपसमूह बढेसँगै बजार बढेको हो ।
नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये बैंकिङ्ग उपसमूह सर्वाधिक ३ दशमलव ४३ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक पनि एक प्रतिशतभन्दा बढीले बढेका छन् । म्युचुअल फण्ड उपसमूहको परिसूचक भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ ।
बजार बढ्दा कारोबारको परिमाणमा पनि सुधार आएको छ । बुधबार ३०८ वटा स्टकको एक करोड १३ लाख ८६ हजार कित्ता शेयर ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । बुधबार न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले बढेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । तर खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा बुधबार जानकी फाइनान्सको सर्वाधिक ३६ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्