२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सांसदहरु निजी काममा बढी सक्रिय हुँदा कानून निर्माणमा ढिलाइ : सभामुख घिमिरे


247
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानून निर्माणको सवालमा संसदीय समिति र सांसदहरुले जागरुकताका साथ काम गनुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरु निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको बताउनुभयो ।

सभामुख घिमिरेले सांसदहरु संसदप्रति उत्तरदायी नभएको टिकाटिप्पणीहरु भइरहेको उल्लेख गर्दै संसद र समितिहरुलाई प्रभावकारी बनाउन सबै संसदहरुले भुमिका खेल्न जरुरी रहेको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयनको सवालमा प्रश्नहरु उठिरहेको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माण गर्न निरन्तर छलफल गरिरहेको बताउनुभयो ।

सभामुख घिमिरेले विद्यालय शिक्षा विधेयक र संघीय निजामति विधेयक छिटो ल्याउन आफूले निरन्तर निर्देशन दिइरहेको बताउनुभयो । उहाँले संसदीय समितिहरुमा धेरै विधेयक नभए पनि संसदहरुको ध्यान नपुग्दा कानून निर्माणमा ढिलाई भइरहेको बताउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘संसदहरु निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने संसदीय गतिविधिमा कम आउने, समितिहरुमा कोरम नपुग्ने, समितिलाई महत्व नदिने, ऐन कानूनहरु बनाउने कुरामा संसदहरुले ध्यान दिनुभएको छैन भन्ने बाहिर परिरहेको छ ।’

सभामुख घिमिरेले संसदीय पत्रकारिताले संसदमा भएका समस्याहरु र त्यसको महत्व उजागर गर्न महत्वपूर्ण भुमिका खेल्दै आएपनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा गर्न नहुने क्रियाकलापहरु बढ्दै गएको बताउनुभयो । सञ्चार क्षेत्रले समाचार संप्रेषणका क्रममा सही सूचनालाई सही ढंगले संप्रेषण गर्नुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले संसदीय गतिविधि, संसदका समस्याहरुलाई पत्रकारिता क्षेत्रबाट उजागर भएपछि मात्र सच्याउन सकिने भएकाले संसद सेवालाई प्रभावकारी बनाउन संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘संसदीय पत्रकारितालाई व्यवस्थित बनाउनुपर्ने बेला भएको छ । यसको गम्भीर समिक्षा गर्न जरुरी छ । त्यहाँ नहुनुपर्ने गतिविधिहरु भइरहेको हुनाले व्यवस्थित बनाउन जरुरी छ । मलाई पत्रकारितालाई नियमन गर्न सुझाव पनि आएको छ ।’

लोकतन्त्र र संसदीय व्यवस्थालाई बलियो र प्रभावकारी बनाउन संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन जरुरी रहेको उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल