१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलम्पिक कमिटिमा अनलाइनमार्फत मनोनयन


0
Shares

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ नेतृत्व चयनको लागि अनलाइनमार्फत मनोनयन दर्ता गरिएको छ ।

अदालतको ‘तत्काल चुनाव नगर्नु’ भन्ने आदेशअनुसार प्रहरीले रोके पनि एनओसी नेतृत्वले जबरजस्ती प्रक्रिया अगाडि बढाएको हो ।

आगामी चार वर्षे कार्यकालका लागि एनओसीले यही पुस १३ गते शनिबारका लागि निर्वाचन मिति तय गरेको छ । त्यसका लागि सोमबारसम्ममा मनोनयन दर्ता गरिसक्नुपर्ने थियो । अदालतले तत्काल निर्वाचन नगर्नु भनि आदेश जारी गरेको अवस्थामा जबरजस्ती गरिन लागेको चुनावको मनोनयन प्रक्रियामा प्रहरीले हस्तक्षेप गरेको थियो । तर एनओसी नेतृत्वले सोमबार राति साढे ११ बजेसम्मको समय तोकेर अनलाइनमार्फत मनोनयन दर्ता गराएको छ ।

वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसहित उनको प्यानलबाट सबैले अनलाइन माध्यमबाट उम्मेदवारी दर्ता गराइसकेको बताइएको छ । जीवनराम प्यानलबाट महासचिवमा नेपाल ¥र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

कार्यसमितिका आकांक्षीमध्ये वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष सुनीलकुमार श्रेष्ठबाहेक अधिकांशले उम्मेदवारी दर्ता गराइसकेको एनओसीका एक पदाधिकारीले बताए । सात उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष एवं टेनिस संघकी अध्यक्ष ज्योती राणासहित ९ जनाको उम्मेदवारी परेको छ ।

ह्यान्डबलका तेज गुरुङ, पौडीका अशोक बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य र सुटिङका पुश्पदाश श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको स्रोतले बतायो ।

त्यस्तै एक सहमहासचिव पदका लागि ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घलेको मात्र उम्मेदवारी परेको छ । तीन सचिव पदका लागि अहिलेसम्म आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ (बोस) तथा पाँच सदस्यका लागि जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवालेको उम्मेवदारी परेको बताइएको छ ।

यसअघि उच्च अदालत पाटनले साधारणसभा रोक्न आदेश जारी गर्नाका बावजुद एनओसीले गत मंसिर १७ गते विशेष साधारणसभाबाट विवादित रुपमा विधान संशोधन गरेको थियो ।