१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्य मन्त्रालयले बनायो जेनरिक औषधि सुझाव समिति


533
Shares

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउने भन्दै जेनेरिक औषधि सुझाव समिति गठन गर्नुभएको छ ।

औषधिमा कुनै एक कम्पनीको नाम नतोकि जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव दिनका लागि भन्दै समिति गठन गरिएको हो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्रा डा बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य छन् ।

समितिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधिको सिफारिस गर्दा अनिवार्य रुपमा जेनेरिक नाम लेख्नका लागि सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न कार्यादेश दिइएको छ । यसैगरी, अन्य अस्पतालहरुमा जेनेरिक औषधीको नाम लेख्नका लागि गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्नसमेत भनिएको छ ।

समितिले अस्पतालको फार्मेसीमा सबै किसिमका गुणस्तरीय औषधि सुपथ तथा सरल मूल्यमा नागरिकले पाउने व्यवस्था मिलाउन सुझाव समेत दिने जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य सेवा ऐन २०२५ मा भएको व्यवस्था लागू गराउने उद्देश्यका साथ समिति गठन गरिएको बताउनुभयो ।